Sunday 20 September 2015

लोक दोहोरीमा जम्दै सुनिला गुरुङ

sunila gurungSource Eprofile लोकदोहोरी गायिका सुनिला गुरुङ ‘भुइँचालोले भत्क्यो मेरो माइतीको देश’ बोलको तीजको कोसेली लिएर दर्शक श्रोतामाझ आएकी छन् । गत वैशाखमा गएको भूकम्पलाई स्मरण गर्दै तयार पारिएको यो गीत समयसान्दर्भिक भएको उनको भनाइ छ । ‘धेरै दर्शक श्रोताले मन पराएको पाएकी छु’, उनले सुनाइन् । यस गीतमा भूकम्पले माइती घरमा पारेको पीडालाई केन्द्रमा राखेर चेलीको बिलौनालाई समेटिएको उनले बताइन् । 
माइती ः रातो सारी लर्काई तीजमा आउँथिन् बहिनी पहिले त
बहिनी नाच्ने आँगन पनि भत्क्यो अहिले त
चेली ः गाँस नि लग्यो, बास नि लग्यो राहतको भरमा
यो तीजमा दर पाक्ने भएन माइती घरमा

सुनिलाले आफ्नो गीतमा समावेश भएको टुक्का सुनाइन् । राजेन्द्र सुवेदीको शब्द रहेको यो गीत दीपसागर थापामगरको संगीतले सजिएको सुनिलाले बताइन् । स्वरमा सुनिलालाई दीपसागर, भीमु गुरुङ र राकेश गुरुङले साथ दिएका छन् ।
२०६६ सालदेखि लोक गीतसंगीतको क्षेत्रमा प्रवेश गरेकी सुनिलाले त्यसयता लगातार लोक तथा दोहोरी गीत प्रस्तुत गर्दै आएकी छन् ।
‘यसैको पछिल्लो कडीका रुपमा भुइँचालोले भत्क्यो मेरो माइतीको देश’ नामको तीज गीतको म्युजिक भिडिओ ल्याएकी हुँ’, उनले भनिन् । गत वर्ष पनि उनले लाउँदिन हिल जुत्ता बोलको तीज गीतकै म्युजिक भिडियो श्रोतामाझ ल्याएकी थिइन् । ‘त्यो गीत यसपटक पनि धेरै दर्शक श्रोताले मन पराउनुभएको छ’, उनले भनिन् । यसअघि उनले जुनलाई साथ ताराजत्ति नि, काठमाडौंमा पशुपति नाथ, आऊ माया गोर्खा बजारमा, हाम्रो माया अमर प्रेम, लाहुरे बन्छौ रे, तिम्रै झल्को आयो फेरि नि लगायतका लोकदोहोरी भिडियो बजारमा ल्याइसकेकी छन् । यसैगरी झुटो माया, तातो पानीमा, कौडालगायतका थुप्रै लोकगीतमा उनले स्वर दिएकी छन् ।
sunilaaa
उनले श्रोताबाट पाएका मायाले आफूलाई उत्साहित बनाएको प्रतिक्रिया दिइन् । आगामी दिनमा पनि लोकगीत संगीतका साथै तीज गीत पनि निरन्तर कोसेलीका रुपमा श्रोतालाई पस्किने योजना उनको छ । उनले लोकगीत मात्र नभएर चेतनामूलक गीत पनि गाउँदै आएकी छन् । गीतसंगीत मनोरञ्जनका लागि मात्र नभएर चेतना विस्तार गर्न पनि सहायक हुनुपर्ने मान्यता लोकदोहोरी गायिका सुनिलाको छ । 
सँगीत क्षेत्र ओरालो लागिरहेको बेला सुनिलालाई भने यति बेला भ्याइनभ्याइ छ । स्वदेश,विदेशका बिभिन्न कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिइरहेकी छिन । राम्रो क्षमता, सम्भावना बोकेकी सुनिलाको संगीत क्षेत्र प्रवेशले लोकदोहोरीको जगेर्ना र संगीत व्यवसायलाई अझ सहयोग पुग्ने आशा गरिएको छ ।