Thursday 27 September 2018

हर्क गुरुङका अघि बाहुनक्षेत्री प्राज्ञिकहरु सल्बलाउन सक्दैनथे

काठमाडौं, ९ असोज । डा कृष्ण भट्टचनले डा हर्क गुरुङको अगाडि बाहुन क्षेत्री समुदायका प्राज्ञिक व्यक्तित्वहरुसमेत सलबलाउन नसक्ने गरेको बताएका छन् । भट्टचनका अनुसार उनी सर्पका अगाडि गरुढ जस्तै थिए ।
‘उहाँचाहिँ वास्तवमा गरुड हुनुहुन्थ्यो । बाहुन–क्षेत्री प्राज्ञिक सर्पहरुदेखि लिएर सबै प्रकारका
सर्पहरु उहाँको अगाडि सल्बलाउन सक्दैनथ्यो,’ गुरुङको १२अाैं स्मृतिमा केही दिनअघि काठमाडाैंमा आयोजित कार्यक्रममा भट्टचनले भने, ‘उहाँ नहुँदा त सर्पहरू यताउति उफ्रने आफ्नाे ठाउँमा थियो । टोक्ने हो कि डस्ने हो कि भन्ने जस्तो गथ्र्यो तर जब उहाँ अगाडि पथ्र्यो अनि लत्र्याक लुत्रुक लज्जावन्ती झारजस्तो भएर सासै फुत्किन लागेको जस्तो हुन्थ्यो ।’
डा गुरुङको बाह्र वर्षअघि ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । डा गुरुङ भौलिक रुपमा बिलाइसकेको भए पनि आजका दिनसम्म उनका बिचार जीवित रहेको भट्टचनले बताए ।
गुरुङ निधनपछि ती सर्पहरुले फेरि डस्न थालेको उनले बताए ।
‘गरुड अपल भइसकेपछि अब सर्पहरुले डस्न सुरु गरे,’ भट्टचनले भने, ‘कसरी डस्यो भन्दा पहिलो संविधानसभा आउनुअघि नै उहाँको निधन भइसकेको थियो । तर दोस्रो संविधानसभामा सर्पको रुपमा डस्यो, १२ बुँदे सहमतिको रुपमा डस्यो, नेपालको संविधान २०७२ को रुपमा डस्यो । र यसरी डस्यो कि खस आर्य नश्लवादीहरुले आफ्नाे संवैधानिक पहिचान स्पष्ट रुपमा राखेर आदिवासी, मधेसी, दलित, मुस्लिम सबैलाई चाहिँ सदियौदेखिको उत्पीडन कायम गर्ने गरेर डस्यो ।’