Wednesday 15 July 2015

एटिएम कार्ड प्रयोग गर्नुहुन्छ ? यी गल्ती कहिल्यै नगर्नुहोस्

प्रयोगकर्ताले सावधानी नअपनाउदाँ पैसा चोरी हुने गरेको  बैंकहरुले बताएका छन् ।
 
एटिएम कार्ड प्रयोगकर्ताले सुरक्षित राख्न नसक्दा र गोप्य पीन नम्वर अरुलाई जानकारी दिने गरेका कारण धेरैजसो एटिएमबाट पैसा चोरी हुने गरेको नबिल बैंकका कार्ड एण्ड इ बैकिङ डिभिजन प्रमुख युकेश श्रेष्ठले जानकारी दिए ।
 
नजिकका साथी र आफ्नै घरका परिवारका सदस्यले  एटिएम कार्डबाट पैसा चोरी  गर्ने गरेको भेटिएको उनको भनाई छ ।
 
'एटिएम कार्डबाट पैसा चोरी भएको उजुरी आएपछि त्यसको अध्ययन गर्ने गरेका छाै यस्तो अध्ययनमा आफ्नै घरका सदस्य र नजिकको साथीले नै उक्त कार्ड प्रयोग गरेर पैसा निकालेको देखियाे ” श्रेष्ठले भने । 
 
यस्ताखालका चोरीबाट बच्नको लागि एटिएम कार्ड प्रयोगकर्ताले आफ्नो कार्ड सधैँ सुरक्षित  राख्नुपर्ने श्रेष्ठले जानकारी दिए । मोवाइल तथा अन्य इलेक्ट्रोनिक डिभाइस र कुनै कागजातमा लेखेर राखेका कारण पनि एटिएमबाट पैसा चोरी हुने गरेको छ ।
 
पर्समा गोप्य नम्बर र कार्ड एकैसाथ  राख्न नहुने उनको भनाई छ । 
 
यसरी गोप्य नम्बर र कार्ड एकैसाथ पाउदा चोरहरुलाई एटिएमकार्डबाट पैसा निकाल्न सहज हुने उनले बताए । एटिएम कार्ड तिन प्रकारका हुने गरेका छन् । डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्डको प्रचलन रहेको  छ ।
 
बैंकमा राखेको पैसा प्लाष्टिक कार्ड मार्फत प्रयोग गर्न सकिने कार्ड डेबिट कार्ड हो भने बैंकले निश्चित रकम सम्म उधारोमा प्रयोग गर्न सक्ने कार्ड क्रेडिट कार्ड हो । क्रेडिट कार्डबाट निश्चित रकम सम्म प्रयोगकर्ताले प्रयोग गर्न सक्दछन् र अन्त्यमा बैंकलाई पैसा तिर्नुपर्दछ । प्रिपेड कार्डभने विदेशमा जाँदा नेपालीले नेपालको पैसा बैंकमा राखि विदेशमा कार्डको प्रयोगबाट डलर निकाल्न सक्दछन् ।   
 
एटिएमका प्रयोगकर्ताले के गर्नुहुदैन
 
१ ) गोप्य नम्वर अरुलाई भन्ने र यसलाई कुनै कागजात र इलेक्ट्रोनिक डिभाइसमा लेखेर राख्नुहुदैँन । 
 
२ ) एटिएम कार्ड अरुको पहुँचबाट टाढा राख्नुपर्दछ । यसलाई सधै आफूसँग मात्रै राख्नुपर्दछ । 
 
३ ) एटिएम प्रयोगकर्ताले एटिएम प्रयोगका क्रममा अपरीचित ब्यक्तिबाट सहयोग माग्नु हुँदैन । 
 
४) एटिएम बुथमा गएपछि कारोवारका क्रममा धेरै समय लगाउनु हुँदैन । 
 
५) एटिएम बुथमा कहिल्यै पनि हेल्मेट र मास्क लगाएर छिर्नु हुुदैन । 
 
एटिएम प्रयोगकर्ताले के के गर्नुपर्दछ 
 
१) बैकबाट एटिएमकार्ड प्राप्त गर्ने बित्तिकै सिग्नेचर प्यानलमा दस्तखत गर्नुपर्दछ जसले गर्दा तपाईको क्रेडिट कार्ड अन्य ब्यक्तिले प्रयोग गर्न सक्दैन । 
 
२ ) बैंकले सुरुमा प्रदान गरेको गोप्य परिवर्तन नम्बर गर्न जरुरी छ । 
 
३) एटिएम कार्डबाट पैसा निकाल्न एटिएम बुथमा प्रवेश गरेपछि गोप्य नम्बर थिच्दा सिधा उभिनुहोस् जसले गर्दा पछाडि उभिएको मानिसले तपाईँको  गोप्य नम्बर देख्न नसकोस् । साथै यसरी उभिदाँ एटिएममा रहेको पिन नम्बर। स्थान पुरै छोपिएको हुनुपर्दछ ।  
 
४) एटिएम प्रयोग गर्ने समयमा तपाइको वरिपरि कोहि उभिएर नियाल्दै छ कि ख्याल गर्नुहोस् । 
 
५ ) एटिएम प्रयोग पछि एटिएम बुथले प्रदान गर्ने रसिद च्यातेर मात्रै डस्टबिनमा फाल्नुहोस् या त घरमा  सुरक्षित राख्नुहोस् ।  नच्याँती यस्तो रसिद फाल्दा त्यसमा रहेको एकाउन्ट नम्बरबाट ह्याकरले तपाइको एटिएम ह्याक गर्न सक्ने प्रबल सम्भावना हुन्छ । 
 
६) क्रेडिट कार्ड प्रयोगकर्ताले कुनैपनि पसल वा डिपार्टमेन्ट स्टोरबाट आफ्नो कार्डबाट सामान खरिद गर्दा गोप्य नम्बर आफैँ थिच्नुहोस् । 
 
७) गोप्य नम्बर बैंकका कुनैपनि अधिकारीले माग्दा प्रदान गर्नुपर्दैन, त्यसैले यो नम्बर आफु बाहेक अरु कसैलाई नबताउनुहोस् यसलाई सम्झेर राख्नुहोस् । 
 
८) एटिएम कार्ड हराएमा तुरुन्त बैंकको हटलाइन नम्बरमा फोन गरेर कार्ड बन्द गराउनुहोस् । 
 
९ ) क्रेडिट कार्डका प्रयोगकर्ताले कारोवार स्लीप  संग्रह गरेर राख्नुहोस् जसले अन्त्यमा बैंकले महिनाको अन्त्यमा तपाईलाई प्रदान गरेको कारोवार रकम र तपाईले गरेको कारोवारको रकम तुलना गर्न सहज हुन्छ । 
 
१० ) अनलाइन मार्फत एटिएम प्रयोगगर्दा शुरक्षित वेवसाइट रोज्नुहोस् । 
 
११) गोप्य नम्बर बेलाबेलामा परिवर्तन गर्ने गर्नुहोस् ।