Wednesday 1 July 2015

गोरखाका २२ गाउँ सार्न स्थानीय प्रशासनको सिफारिस

५ जेठ, गोरखा । विनाशकारी भूकम्पपछि गोरखाका २२ वटा बस्ती वासिन्दालाई वषर्ायाम अगावै सुरक्षित स्थानमा सार्नु पर्ने भएको छ ।
भूकम्पका कारण गएको पहिरो र जमिनमा धाँजा फाटेर बस्नै नसक्ने अबस्था देखिएपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले यहाँका ११ वटा गाउँ विकास समितिका २२ वटा बस्ती सार्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । ‘प्रारम्भिक अध्ययन अनुसार २२ सय बढी परिवारलाई सुरक्षित स्थानमा सार्नु पर्ने देखिएको छ’ सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले अनलाइनखबरसँग भने ।
Earth Quake, Gorkha
उत्तरी क्षेत्रमा रहेको लाप्राकमा भने
बस्नै नसकिने अवस्था छ । लाप्राकको १ देखि ९ नम्बर बडाका सबै गाउँहरुलाई सुरक्षित स्थानमा सार्न सिफारिस गरिएको छ ।
‘अब लाप्राक बस्न सकिने अवस्था छैन । कतिखेर बस्ती नै लैजाने हो भन्ने डरले सबै गाउँले डाँडामा गएर बसेका छन्’ स्थानीयबासी सन्तबहादुर गुरुङले अनलाइनखबरसँग भने ।
पौडेलका अनुसार बस्ती सार्न सिफारिस गरिएका अन्य गाउँहरुमा पहिरोको जोखिम छ । उनले भने-‘वर्षायाममा बाढी तथा पहिरोले थप मानवीय क्षति नहोस् भनेर बस्ती सार्न सिफारिस गरेका हौं ।’
बारपाकको मान्द्रे र ओझे गाउँका मानिसहरुलाई सुरक्षित स्थानमा सार्नु पर्ने भएको छ । ध्यालचोक गाविसको धनसिया, इसाइ, बाँसकोट र निलिम, केरौंजा गाविसका १ देखि ४ नम्बर वडाको वस्तीहरु, बुम्जाको १ देखि ३ नम्बर वडा सिउला, लप्सीबोट र उमगाउँका मानिसहरुलाई सुरक्षित स्थानमा सार्नु पर्ने देखिएको छ ।
यसैगरी लापुको ठाँटी र भिरकुना, विहीको फोर्लागाउँ, सिमझाको पाप्ले, सौरपानीको सिम्बु श्रीनाकोटको सानु सिलिम र देवल लगायतका गाउँका मानिसहरु पनि जोखिममा रहेको समितिले जनाएको छ ।
वैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक थियो । भूकम्पका कारण गोरखामा मृत्यु हुनेको संख्या ४४० पुगेको छ भने २४ जना अझै हराइरहेको प्रहरीले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार गोरखामा अब केही हजार घरहरु मात्र सुरक्षित छन् । ६६ हजार ५०६ घर मध्ये ४४ हजार ६५० पूर्ण रुपमा ध्वस्त भएका छन् भने १३ हजार ४३० मा आंशिक क्षति पुगेको छ ।
जिल्लाका ४१२ घरमा भने सामान्य क्षति भएको सरकारी तथ्यांक छ ।
- See more at: http://www.onlinekhabar.com/2015/05/279102/#sthash.15sOyCi0.dpuf