Wednesday 1 July 2015

लाप्राकबासी गोप्‍सी सरे

लाप्राक (गोरखा) : थातथलो छोडेर आएकी लाप्राक गाउँकी ७० वर्षीया पनी गुरुङ अहिले गाउँभन्दा एक घन्टाको बाटो टाढा रहेको गोप्सीडाँडामा घडेरी खारिरहेकी छन्।
भूकम्प र त्यसपछिको पहिरोले घरबास उठाएपछि नयाँ घर बनाउन उनी गोप्सीडाँडाको जग्गा ओगट्न आइपुगेकी हुन्। फेरि फर्केर आफ्नै थलो गइन्छ कि गइन्न उनलाई कुनै अनुमान छैन।
 
उनीजस्तै पाँच सय ९५ घरधुरी लाप्राकी गाउँ माया मारेर गोप्सीडाँडामा आएका छन्। केही घर कामी र बाँकी सबै गुरुङको बस्ती छ। उनीहरू त्यहाँ धमाधम 'त्रिपालबस्ती' बसाल्न थालेका छन्। 
 
गोप्सी बारपाक र लाप्राक गाविसको सीमानामा रहेको भिरालो ठाउँ हो। यहाँको सरकारी जग्गामा घरवास छोडेका सबै लाप्राकी अट्ने क्षमता छ।
 
ढलेको घर उठाएर फेरि बस्न कसैले आँट गरेका छैनन्। वरिपरि ठूला पहिरोले घेरिएको यहाँको भुइँमा पनि ठूलाठूला धाँजा फाटेको छ। यो बर्खामा गाउँमा बस्न सक्ने अवस्था नदेखेपछि थातथलो छोडेको स्थानीय बताउँछन्।
 
गोप्सीमा जमेको नयाँ लाप्राकमा अहिले कोही भिरालो जमिन सम्याउन व्यस्त छन्। कोही उत्तिसको काठ काटेर खाँबा गाड्न, निगालोको डाँडाभाटा बाँध्न व्यस्त छन्। कोही त्रिपाल टाँग्न व्यस्त छन्। 
 
प्राय: सबै नयाँ लाप्राकमा नयाँ घरजम गर्न तल्लीन छन्। अस्थायी टहरो बनाउन सबैको हातमा रंगीचंगी त्रिपाल पुगिसकेको स्थानीय मार्सिङ गुरुङको भनाइ छ।
 
गोप्सीडाँडासम्म मोटरबाटो खुलेको छ। त्यसैले सरकारी र व्यक्तिगत पहलमा दिएको राहत सामग्री गाउँमा पुर्‍याउन सहज भएको मार्सिङ बताउँछन्। 
 
'पहिले त हेलिकोप्टरबाट अलिअलि मात्र राहत सामग्री आएको थियो', उनले भने, 'अहिले गाडी चल्ने भएपछि सरकारले पठाएको, बाहिर बसेकाहरूले संकलन गरेको राहत सामग्री गाउँमा ल्याउन सजिलो भएको छ।' 
 
गुम्दा, सिङ्ला, उहिया, खोर्ला लैजाने राहत सामग्री पनि मोटरले यही ल्याएर जम्मा गर्न थालेका छन्।
 
गोप्सीडाँडामा नयाँ लाप्राक गुल्जार भएको छ। पुरानो गाउँमा जस्तो बाक्लो बस्ती भएकाले छरछिमेक, आवतजावत, गफगाफ, हसीमजाक हुन थालेको छ। यसले लाप्राकीको भुइँचालो र पहिरोको घाउमा बिस्तारै खाटा बस्दै गएको स्थानीय राजनीतिकर्मी सन्तोष गुरुङ बताउँछन्। 
 
तर यहाँ पनि पहिरोको जोखिम भने नभएको होइन। 'गाउँभित्र, बारीमा, जंगलमा जताततै मान्छे पस्ने जत्रो धाँजा फाटेको छ', उनी भन्छन्, 'गोप्सीडाँडामा पनि हामी ढुक्क छैनौं। गाउँमाथि जंगलमा पनि धाँजा फाटेको छ। तल त झन् पहिरो छ। अरूलाई त भूकम्प मात्र हामीलाई पहिरो पनि।'
 
 गाउँलेहरू सबैले पुनर्वास चाहेको उनले बताए। 'सरकारले हामीलाई जतिसक्दो चाँडो यो वर्षाअघि नै पुनर्वास दिनुपर्छ', सन्तोष भन्छन्, 'हामी यही ठाउँ भनेर माग्दैनौं। 
 
भूगर्भविद्ले छानेर हामीलाई चाडो ठाउँको व्यवस्था गरिदिनुपर्छ।' घरधुरी मात्र सारेर नहुने भन्दै उनले गरिखाने जमिन पनि उपलब्ध गराइदिनु पर्ने र रोजगारीको वातावरण सिर्जना गरिदिनु पर्ने उनको भनाइ छ।
 
तमुवान छाडेर जान नचाहेको यहाँका समुदायको भनाइ छ। धेरै टाढा बसाइँ जाँदा आफ्नोपन हराउने स्थानीय शिक्षकसमेत रहेका धनबहादुर गुरुङको चिन्ता छ। 'गाउँ छाडेर यहाँ आउँदा त अर्कै जीवन जस्तै भएको छ।
 
झन् अरू जिल्ला जाँदा हामी को हो? हाम्रो पहिचान के हो भन्ने नै मेटिन्छ', उनी भन्छन्, 'हामी जहाँ बसे पनि लाप्राकी भएरै बाँच्न पाउँ। हाम्रो भाषा, संस्कृति, परम्परा, रहनसहन, भेषभूषा नहराओस्। हामी यसै पीडित छौं, झन् पीडित हुनु नपरोस्।' यहीँ बस्न पनि नसक्ने, छोडेर टाढा जान पनि नसक्ने धर्मसंकटमा परेको उनले दु:ख व्यक्त गरे।
 
तर लाप्राक गाविसभर पुनर्वास गराउन मिल्ने ठाउँ नभएको भूगर्भविद् डिपी अधिकारी तर्क गर्छन्। गाविसका जहाँतहीँको जमिनमा धाँजा फाटेकाले सबैतिर असुरक्षित रहेको उनको भनाइ छ।
 
'करिब लाप्राकको सबै ठाउँ चहारें। जहाँ पनि उस्तै पहिरोको खतरा छ', अधिकारी भन्छन्, 'नजिकको गुम्दा गाविसको भूभागमा पनि पाँच सय घर अट्ने क्षेत्र छैन। 
 
त्यही पनि सारिसकेपछि अब कहिल्यै सर्नु नपर्ने ठाउँमा लानुपर्छ। गुम्दा पनि सधैंका लागि उपयुक्त ठाउँ होइन।' यसको विकल्प राज्यले दिन सक्नुपर्ने उनले बताए।
- See more at: http://annapurnapost.com/News.aspx/story/12364#sthash.2AO21z5A.dpuf