Friday 24 July 2015

नेपालको जनसंख्या २ करोड ८० लाख

Source e kantipur 
काठमाडौं, असार २६ - नेपालको जनसंख्‍या करिव ३ करोड नजिक पुगेको छ । विश्व जनसंख्या दिवसको अवसर पारेर केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ८० लाख ५८ हजार २ सय २ पुगेको हो ।
राष्ट्रिय जनगणना २०६८ अनुसार मुलुकको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । जसमध्ये ५१ दशमलव ५ प्रतिशत महिला र पुरुष ४८ दशमलब ५ प्रतिशत छ । त्यसबाहेक विदेशमा १९ लाख २१ हजार ४ सय ९४ रहेका छन् । विभागका उप-महानिर्देकक डा. रुद्र सुवालका अनुसार अहिले जनसंख्या वृद्धि दर १ दशमल ३५ प्रतिशत छ ।
विश्व जनसंख्या दिवस मनाइँदै
‘आपत्कालीन अवस्थामा असुरक्षित जनता’ भन्ने नारा सहित आज विश्व जनसंख्या दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १९८९ को जुलाइ ११ मा विश्वको जनसंख्या ५ अर्ब
पुगेको अवसर पारेर संयुक्त राष्ट्रसंघले २६ वर्षअघिदेखि यो दिवस मनाउन शुरु गरेको हो ।
पछिल्लो केही वर्षको तथ्यांकअनुसार प्रत्येक वर्ष करिब ८ करोड जनसंख्या बढिरहे पनि जनसंख्याको वृद्धिदरमा भने कमी आइरहेको छ ।
सन् २०५० मा जनसंख्या वृद्धिदर ० दशमलव ५ मा भन्दा पनि कम हुने प्रक्षेपण गरिएको छ । तर जनसंख्या वृद्धिदर घटे पनि व्यवस्थापन तथा विभिन्न समस्यामा भने कम हुन नसकेको विज्ञहरु बताउँछन् ।
जनसंख्या दिवसको सन्देश
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)ले ‘जोखिमका जनसंख्यालाई सहयोग गरौं, विपद्मा नवर्निमाणको उर्जा बनौं’ नारासहित सहयोगको अपिल गरेको छ । विश्व जनसंख्यादिवस (जुलाई ११)को अवसरमा युएनएफपीएकी नेपाल प्रतिनिधि जुलिया भलिसीले विज्ञप्ति जारी गर्दै अपिल गरेकी हुन् ।
‘नेपालले भूकम्पको महाविनाशबाट उत्साहजनक रूपबाट पहिलेकै अवस्थामाफर्किने प्रयत्नगरिरहेका बेला विश्व जनसंख्या दिवस २०१५ मुलुकका लागि अझ बढी सान्दर्भिक हुनआएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा ठूलो भूकम्प र त्यसपछिका त्रासदीपूर्ण तथा विध्वंसात्मक पराकम्पनहरूको शृंखलापछि पहिलेकै अवस्थामाफर्किन व्यापक रूपमा प्रयत्न गरिरहेको अवसरमा यो नारा एउटा महत्वपूर्ण अवधारणा हो ।’
प्राकृतिक प्रकोपमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरू सबैभन्दा जोखिममा रहेका जनसंख्यामध्ये पर्ने उल्लेख छ । ‘यो विषयले खास गरी कठिनाईको यो वर्ष नेपालसँग अझ सरोकार राख्छ,’ भूकम्पबाट १४ जिल्लामा ज्यादा असर परेको उल्लेख गर्दै भनिएको छ, ‘त्यहाँमात्रै ८० लाख मानिस प्रभावित छन् जसमध्ये १५ लाख महिला प्रजनन् उमेरका छन् ।’ प्रजनन् स्वास्थ्यसँग सम्बन्धित जटिलताहरू साधारण अवस्थामै पनि बच्चा पाउने उमेरका महिला विरामी पर्ने र ज्यान गुमाउने प्रमुख कारणका रूपमा रहेको भनिएको छ । त्यसैले मानवीय संकटको यस्तो परिस्थितिमा यस्ता घटना अझ विकराल रूपमा बढ्न सक्ने औल्याइएको छ ।
युएनएफपीएले भूकम्प प्रभावित जिल्लाहरूमा स्वास्थ्य संस्थाहरूमा क्षति र स्वास्थ्य सेवाहरूमा अवरोधले गर्दा गर्भवती र स्तनपान गराइरहेका आमाहरू र वयस्क किशोरीहरूले स्वास्थ्यमा जोखिमहरू सामना गर्नुपरेको उल्लेख गरेको छ । यस्तो आपत्कालीन समयमा लैंगिक हिंसा, यौन शोषण, एचआईभी संक्रमण, मानव बेचविखन, वालविवाहवा अनिच्छित गर्भधारणलगायत विषम परिस्थितिप्रति ध्यानाकर्षण गराएको छ । विश्वव्यापी रूपमा मानवीय संकटका परिस्थितिहरूमा प्रत्येक पाँचमध्ये एक महिला र वयस्क युवती गर्भवती हुन सक्ने अनुमान छ ।
प्राकृतिक विपत्तीलगत्तै पानी, सरसफाई, खाना, पाल र आवास उपलब्ध गराइए पनि महिला र किशोरीहरूका खास अत्यावश्यक आवश्यकताहरूलाई वेवास्ता गरिन्छ । त्यसनिम्ति प्राथमिक राहतमा यौन प्रजनन् स्वास्थ्य सहयोगलाई पनि समावेश गरिनु पर्ने भनेको छ ।
युएनएफपीएले भूकम्प पीडितहरूका जीवन–रक्षामा नेपाल सरकारसँगै सहयोग गर्न पाएको जनाएको छ । ‘युएनएफपीएले प्रसूती सम्वन्धी र गर्भनिरोधक सामग्रीहरू, डिग्निटी किट्स, महिला–मैत्री स्थल र प्रभावित जिल्लामा कमजोर जनसंख्यालाई लैंगिक हिंसा रोक्न र प्रजनन् स्वास्थ्यको ख्याल राख्न तालिमप्राप्त जनशक्ति उपलब्ध गराउदै आएको छ,’ विज्ञप्तिमा छ, ‘हामी महिला, वयस्क किशोरी र युवाका आवश्यकताहरूमा पुनर्निमाणको चरणभरि नै सहयोग गरिनु पर्छ भन्ने सुनिश्चित गर्न प्रतिवद्ध छौं ।’