Sunday, 2 August 2015

ब्रेन ट्युमरका बारेमा जान्नै पर्ने केही तथ्यहरु

ब्रेन ट्युमर भन्‍ने शब्द नेपाली जनमानसमा नौलो हुन छाडेको छ। फलानो मान्छेलाई बे्रन ट्युमर भयो रे भन्‍ने कुराकानी प्रशस्त सुन्‍न पाइन्छ। के हो त ब्रेन ट्युमर ? ब्रेनको अर्थ मानव मस्तिष्क हो भने ट्युमरको अर्थ अंगमा मासु पलाउनु हो। ट्युमर विभिन्‍न किसिमका हुन्छन्। सुन्दाखेरि ट्युमर भन्‍ने बित्तिकै डरलाग्दो भए पनि सबै ट्युमर नराम्रो हुँदैनन्।

राम्रो ट्युमरलाई अंग्रेजीमा बिनाइन ट्युमर भनिन्छ। यस्तो ट्युमर एकचोटी
निकालेर फालेपछि अथवा उपचार गरेपछि फेरि कहिल्यै आउँदैन अर्थात् ८,१० वर्षपछिमात्रै फर्केर आउने सम्भावना हुन्छ। नराम्रो ट्युमर म्यालिगनेन्ट ट्युमर एक चोटी निकालेर फालेपछि अथवा उपचार गरेपछि फेरि तुरुन्त फर्केर आउँछ। त्यस्तो ट्युमरलाई क्यान्सर भनिन्छ।

मस्तिष्कमा विभिन्न किसिमका कोष तथा तन्तु हुन्छन्। तीमध्ये कुनै एक तन्तु आवश्यकभन्दा बढी पलाउन गई मासुको डल्लोजस्तो रूप लिई मस्तिष्कलाई असर पार्दछ। त्यसलाई ब्रेन ट्युमर भनिन्छ।

किन आउछ ब्रेन ट्युमर ?
ब्रेन ट्युमर के कारणले हुन्छ यकिन साथ भन्‍न सकिँदैन। वातावरणीय तत्त्वलाई बे्रन ट्युमरको एक प्रमुख कारक तत्त्वका रूपमा लिइन्छ। वातावरणमा हुने विभिन्न किसिमका तत्त्वहरूमध्ये विकिरण अर्थात् रेडिएसनलाई पनि बे्रन ट्युमरको कारक पाइन्छ। कुनैकुनै बे्रन ट्युमर वंशानुगत कारणले पनि हुन सक्दछ।

ब्रेन ट्युमरको वास्तविक कारण स्पष्ट नभए पनि यो के ले गर्दा हुँदैन भन्ने चाहिँ लगभग स्पष्ट छ। जस्तै खानापिनाले गर्दा ब्रेन ट्युमर हुँदैन। सामान्यतया माछा, मासु, दूध अन्डा, फलफूल, सागसब्जी आदि ब्रेन ट्युमर भएको बिरामीले राम्ररी खाना मिल्छ। चिन्ता या मानसिक तनावले पनि ब्रेन ट्युमर गराउँदैन। चोटपटक या कुनै प्रकारको ब्रेनको संक्रमण भाइरस या ब्याक्टेरियाले पनि ब्रेन ट्युमर गराउँदैन।

यसका लक्षणहरु
- टाउको दुख्‍नु : टाउको दुख्यो भन्दैमा सबैलाई ब्रेन ट्युमर नै हुन्छ भन्ने होइन। तर टाउको दुखिरहने, अथवा पहिलाभन्दा टाउको दुखाइको प्रकृति परिवर्तन भएमा आवश्यक जाँच गरेर ब्रेन ट्युमर छैन भन्ने कुरा निश्चित गर्नु राम्रो हुन्छ।

-उल्टी हुनु: सामान्यतया वान्ता हुनु ब्रेन ट्युमरको लक्षण होइन। तर टाउको दुखाइका साथै बान्ता भइहाल्नुको पछाडि ब्रेन ट्युमरजस्तो ठूलो समस्या पनि हुन सक्छ। तसर्थ धेरै लामो समयसम्म टाउको दुखाइ र बान्ताको समस्या भइहालेमा सम्बन्धित चिकित्सक अर्थात् न्युरो सर्जनलाई भेटी आवश्यक जाँच गरेको राम्रो हुन्छ।

-प्यारालाइसिस हुनु : प्यारालाइसिसको समस्या आउनु निश्चय पनि मस्तिष्कको कारण हो। तर ब्रेन ट्युमर नै हो वा अन्य कुनै कारण हो त्यो चाहिँ लक्षणबाट मात्रै थाहा हुँदैन। तर प्यारालाइसिस भएपछि सकेसम्म चाँडो विशेषज्ञ चिकित्सक कहाँ गई उपचार गराइहाल्नु राम्रो हुन्छ।

- छारेरोग: छारेरोग भन्नाले शरीरको एक मात्र भाग वा पूरै शरीर कम्पन भई बेहोस अथवा अर्धचेत अवस्थामा पुग्ने रोग बुझिन्छ। छारेरोग आफैंमा एउटा रोग हुन सक्दछ। अर्कोतर्फ छारेरोग लक्षण पनि हुन सक्दछ। छारेरोग ब्रेन ट्युमरको एक प्रमुख लक्षण हो। तसर्थ छारेरोग हुनेबित्तिकै आवश्यक जाँच गरी यो आफैंमा एउटा रोग हो कि अथवा मस्तिष्कको अन्य खराबीले भएको हो भनी पत्ता लगाउनु जरुरी हुन्छ।

सामान्यतया लक्षणकै आधारमा ब्रेन ट्युमरको पहिचान तथा निदान गर्न सकिँदैन। सिटी स्क्यान, अथवा एमआरआई नगरेसम्म ब्रेन ट्युमरको ठोकुवा गर्न सकिँदैन।

कोही बिरामीहरूमा सामान्य मानसिक कमजोरीमात्रै देखिन सक्दछ। त्यस्ता बिरामीहरू आवश्यक जाँच नगरी मानसिक औषधिमात्र सेवन गरी राखेको देखिन्छ। कहिलेकाहीँ लामो समयसम्म मानसिक समस्या भएको मानिसलाई आवश्यक जाँच गरी न्युरोसर्जनलाई देखाउनु राम्रो हुन्छ।

त्यस्तैगरी कोही केही ब्रेन ट्युमरका बिरामी आँखा अथवा कानको समस्या लिएर पनि आउने गर्दछन्।

अन्य कोही बिरामी हर्मोनको समस्या लिएर पनि आउन सक्छन्। जस्तै महिलामा महिनावारी गडबड हुने अथवा अप्राकृतिकरूपमा स्तनबाट दूध आउने आदि। लोग्नेमानिसमा यौनजन्य लक्षण देखा पर्न सक्दछ। ब्रेन ट्युमरका अन्य कतिपय बिरामीहरूमा कुनै विशेष लक्षण ब्रेन ट्युमर पलाउँदै आउने सम्भावना पनि हुन्छ।

ब्रेन ट्युमरका प्रकार
अन्तराष्ट्रिय स्वास्थ्य संगठनले विभिन्न प्रकारका ब्रेन ट्युमरको उपचारमा एकरूपता आओस् भन्नाका लागि ब्रेन ट्युमरलाई विभाजन गरेको हो। यसमा ट्युमरमा चारवटा ग्रेड छुट्ट्याइएको छ। जति ग्रेड बढ्दै जान्छ ट्युमरको प्रकृति त्यत्तिकै नराम्रो हुँदै जान्छ। 

रूपमा ग्रेड एक र दुईको ट्युमरलाई राम्रो ट्युमर भनिन्छ भने ग्रेड तीन र चारको ट्युमरलाई नराम्रो। यसको अर्को नाम क्यान्सर हो।

यसको उपचार गर्ने उपाय
ब्रेन ट्युमरको वास्तविक उपचार शल्यक्रिया नै हो। तर शल्यक्रिया कहिले गर्ने, तुरुन्तै गर्ने वा पछि गर्ने त्यो ट्युमरको प्रकृतिमा भर पर्दछ। कुनै कुनै ट्युमरलाई शल्यक्रिया गर्नु नपर्ने पनि हुन्छ। ब्रेन ट्युमरको शल्यक्रिया भन्नाले टाउकोको हड्डी खप्पर खोलेर ट्युमर निकाल्ने हो। सम्भव भएसम्म अपरेसन गर्नु अगाडि आवश्यक सिटी स्क्यान, एमआरआई तथा अन्य सबै जाँच पूरा गर्नुपर्छ। साथै सम्भव भएसम्म ट्युमर पूरै निकाल्ने कोसिस गर्नुपर्दछ। तर कहिलेकाहिँ ट्युमर सबै पूर्णरूपमा निकाल्न नसक्ने अवस्था पनि आउँदछ। जबर्जस्ती सम्पूर्ण ट्युमर निकाल्न खोजेमा बिरामी अझ गम्भीर बन्न सक्छ।

कहिलेकाहीँ ब्रेन ट्युमर शल्यक्रियाका लागि आवश्यक सम्पूर्ण जाँच तयारी गर्न सक्ने समय र परिस्थिति नहुने अवस्था पनि हुन सक्दछ। आकस्मिक शल्यक्रिया गर्नुपर्ने बाध्यता हुन सक्दछ। त्यस्तो अवस्थामा अपरेसन त सफल भयो तर बिरामी राम्रो भएन भन्ने परिस्थिति त्यस्तै अवस्थामा आउँदछ।

शल्यक्रियापछि ट्युमर कति बाँकी छ, प्रकृति कस्तो छ, अनुसार थप उपचारको जरुरत पर्दछ। थप उपचारमा रेडियोथेरापी र केमोथेरापी पर्दछ। रेडियोथेरापी भन्नाले विकिरणको सहायताले ट्युमरलाई सेक्ने भन्ने बुझिन्छ। ट्युमर र ट्युमरको वरिपरिको भागलाई विकिरणले राम्ररी सेकेपछि फेरि ट्युमर पलाउने सम्भावना कम हुन्छ। त्यस्तै केमोथेरापी भन्नाले क्यान्सरलाई मार्ने औषधिको प्रयोग गरी बाँकी ट्युमर र वरिपरिको भागमा रहेको क्यान्सर हुन सक्ने सम्भावना भएको कोष मार्ने प्रविधि बुझिन्छ।

अब नेपालमै उपचार
नेपालमा ब्रेन ट्युमरको उपचार सम्भव छ। नेपालका विभिन्‍न अस्पतालमा बे्रन ट्युमर उपचारको लागि आवश्यक दक्ष तथा अनुभवी न्युरोसर्जन तथा उपकरण उपलब्ध छन्। लामो समयदेखि विभिन्न किसिमका ब्रेन ट्युमरका शल्यक्रिया पनि भइराखेका छन्। नेपाली दक्ष जनशक्ति माथि विश्‍वास गरौं र हौसला दिऊँ।

लेखक: डा प्रवीण श्रेष्ठ
नर्भिक इन्टरनेसनल हस्पिटलक